Saturday 24 March 2012


फेरि उहि कुरा
'भगवान त एउटै हो नि यार?'
उसको पारा चढ्यो। 
अर्कोको कुरा नसुने झैं उसले खल्तीबाट खैनीको पोको झिक्यो, चुना मिसायो र माड्न थाल्यो। 
अर्को शायद उसको प्रतिकृयाको पर्खाइमा थियो। 'हँ? होइन र यार?'
उसले खैनी टक्टक्यायो र ओंठमा चेप्यो। उसले अर्कोलाई चुपै लगाइदिने बिचारले  भन्यो,'तैंले म कहिल्यै चर्च गएको देखेको छस्?'
अर्कोले मुन्टो हल्लायो। 
'तँ कहिल्यै मस्जिद गएको छस्?'
अर्कोले फेरि मुन्टो हल्लायो। 
'अनि? कसरी भो भगवान एकै?'
अर्कोले आफ्नो अड्डी अलि छाड्दै गएको पारामा भन्यो,' खै मलाई त एउटै हो जस्तो लाग्छ।" 
उसले कुरा टुंग्याउँदै भन्यो,' तँलाई त्यस्तो लागेर, मलाई त्यस्तो नलागेर केही हुँदैन। उ! त्यसले श्राद्ध सके जस्तो छ, खल्ती रित्याएर भेटी देला । जा बोलाएर ल्या, भट्टीमा उधारो पनि बन्द छ। गेटपास् त चाहिन्छ।'