Wednesday 11 April 2012

लालगेडी बा


किन  लेख्तछन्   खै? यत्रो   बर्षको  साधानाले यस्तै अशुद्ध भाषा र शैली जन्माउँछ? उनको तिक्तता त्यति पोखिंदैमा रित्तिएन। भन्नुस् त 
जुन्  कुरा   प्रकाश छेकेर जन्मन्छ त्यो कहिं झुल्किन्छ?   टल्किन्छ? उनको ईशारा केही बर्ष अघि गाइएको गीत तिर थियो। मैले यो तर्कको प्रतिवाद नगर्ने सोचें र भनें, " फेरी प्रकाशको श्रोत, स्थान बदलिंइदै जाँदा छाँयाको क्षेत्र पनि बदलिन्छ, त्यसैले पनि ठिक भएन।" 
"हैन भाई, यति सार्‍हो गहिरो जानै पर्दैन, मैले सरासर गल्ती मात्रै औंल्याउन खोजेको  होइन, एउटा गल्तीले अरु पनि निम्त्याउने र त्यसको अनुसरणले भाषा बिटुलिने यथार्थ बताउन खोजेको हुँ।" 
हामीले एकअर्कालाई देख्तै आएको निकैपछि आपसमा बोल्न सुरु गरेका हौं। उनि माझमा बस्न रुचाऊँछन्, म चैं कुनोमा। उनि गफ् गर्न मनपराऊँछन् तर कुरो चैं आफु सुरु गर्दैनन्। हाम्रो भेट हुने प्राय भट्टी मै हो।  आक्कल्-झुक्कल तरकारीको झोला बोकेर फर्कँदा बाटो या भर्‍याङमा भेट हुन्छ, नत्र भट्टीमा पक्का। भाषा प्रति यिनको प्रेम असाध्य छ। एक साँझ पिउन सुरु नगर्दै भने, " सुन्नुहोस् त! प्रकृतिका कोटीकोटी सम्पदाको आँचल, वीरहरुका रगतले स्वतन्त्र र अटल। आहा! सरल शब्दमा पनि कस्तो अद्बुत चमत्कार। यी शब्द सुनेर फेरी फेरी पनि नेपाल मै जन्मिन मन लाग्छ।" मैले सोचें आज घर बाटै पिएर आएछन्। भट्टीवाललाई सोधें पनि। 
"घरमा पिउन त पानी मात्रै हो।" 
यिनको बारेमा जति जानिएको छ मोटामोटी यहिं भट्टीमा हो। बाहिर यिनी त्यति खुल्दैनन्  जति यहाँ खुल्दछन्। आफन्त भेट्न आएको या यिनी गएको पनि उति थाहा छैन। म घर भाडापनि यिनकै श्रीमतीको हातमा दिन्छु, यिनलाई मनाही छ। पेन्सन बुझेर चालिस आफु राखी साठी घरमा बुझाऊँछन्। 
मलाई पत्यार लागेन यिनी तराईका कुनै जमिनदारका छोरा हुन् भनेर। त्यो पनि एक्लो संतान। आमालाई यिनी सानै छँदा सर्पले डसेछ। त्यस पश्चात यिनलाई मुजफ्फरपुर लगेर पढ्न राखिएछ र बाउले अर्को बिहे गरेछन्। प्रवेशीका सकेर घर आएका बखत एक साँझ यिनले बाउलाई कम्तियाकी श्रीमतीसंग ओछ्यानमा भेटेछन्। त्यसपछी घर छाडेका यिनी, सौतिनी आमा बित्दा मात्रै तराई फर्के, त्यो पनि सोझै घाटै पुगेछन्। यिनी आँफैं भन्छन्, "जे गरें आँफैं, आफ्नै लागि गरें। मेरा बाउले पनि आफ्नै लागि गरे तर मैले चैं अरुको फिट्टो बिगारिन"। गीत कविता यिनी पाँच सात कक्षादेखि नै लेख्थे अरे, तर हार्मोनियम नौ कक्षामा छँदा साथ लागेछ र गाउन सुरु गरेछन्।  भगवान त मान्दैनन् क्यार तर  हार्मोनियम सिकाउने गुरु प्रति निक्कै श्रद्धा रख्छन्। अलि चर्को बोलिरहको बेलामा पनि ति गुरुको नाम ल्याउनपरे स्वर नरम भै हाल्छ। ससुरालाई यिनले जति आदर शायद नै अरु कुनै ज्वाँईंले दिएका हुँदा हुन्। घर छाडेर हिंडेका यिनी भारतको बाटो भएर राजाधानी छिरे, उच्च अध्य्यन गर्न। बि ए सकेपछि सरकारी अड्डाका सुरुका एकदिन एउटा अपरिचित् आएर एउटा पत्र थमाएर हिंडेछ। त्यो एक पत्र र एक डाकको मुर्च्छनाले भक्कान्निएर हिंडेका यिनी दुई हप्तापछि तिनै गुरुकी बहिनी र एउटा थोत्रो हार्मोनियम लिएर फर्के। आफ्ना  दिवंगत गुरुका ति दुई चिनोलाई जति  माया अरु केहीलाई गर्दैनन्। यिनी भट्टीबाट फिरेपछि घरमा सधैं कचिङगलो हुन्छ, तर यिनी आफ्नो बचाऊ गर्दैनन्। बरु पिएर आफ्नो मात्रै त हो नि बिगारेको भन्ने जस्तो तर्क गर्छन्। यहि एउटा पिउने बानी संग श्रीमतीको गुनासो छ नत्र यो जोडी एक अर्कालाई  प्रेम र ख्याल  जति राख्तछन् त्यो भन्दा निकै धेरै सम्मान गर्छन्। आखिर संतान भएनन् यिनको। 
हुन त हामी दुबै पिऊँछौं, म बढि पिऊँछु यिनी अलि बढि नै पिऊँछन्।  
यसरी नै एकदिन अलि बढि नै भएको बेला आफु निसंतान भएको गुनासो पोखे, "मेरा बाउले मेरी कान्छी आमालाई दिएको दु:खको पाप मलाई लाग्यो।" 
प्राय दिउँसो यिनी हार्मोनियम लिएर गाउन बस्छन्, ढोका ढप्काएर। श्रीमती बिस्तारै आएर चुपचाप सुनिरहन्छ्न्। कहलिएका गायक र उस्तादहरुले उहिल्यै भनेका रहेछन्, "समर बाबु रेडियोमा आएर गाउनुहोस्"।  
मुसुक्क हाँसेर भनेछन्, " म तपाईंहरु जत्तिको महान छुईन। म आफु रमाउन आँफैं लेखी गाएर आँफैंलाई सुनाउँछु। मेरो स्वरलाई राम्रो ठानिदिनुभयो, मलाई पुग्यो"। 
सुब्बासम्म पुगेर सेवानिर्वृत भएका यिनी कहिल्यै घुस नलिएकोमा गर्व गर्छन्। 
"आफ्नो लागि भनेर नगरेको यत्ति एउटा हो। नत्र गुरुजी बित्दा त्यो जागिर छाडेर उतै घरजम गर्थें। गुरुजीको  त्यति बिघ्न सम्पत्ति छाडेर श्रीमतीको हात मात्र समाउन मलाई उतिखेर के कर थियो थाहा छैन।  तर भाई त्यसो नगरेको भए मेरी श्रीमती मैले गाएको आजसम्म सुनिरहन्न थिई होला। अरुका कुरा छाडौं ति आँखामा मेरालागि त्यो एकदिन पलाएको आस्थाको मुनो आज सम्म बरु झाङिएकै छ।"

हो यस्तै कुरा गर्छन् यिनी। समयले कोल्टे फेर्दै धेरै मापक र मानक फेरिदिएपनि यिनी आफ्ना पुराना दिनहरुले दिएका सन्तुष्टि र आग्रह प्रति बफादार छन्। एउटै कुरो खोट लाउन हुने लायकको छ। आँफैं भन्छन्," हो भाई अलि बढि नै पिइन्छ"। 
त्यो त म पनि पिऊँछु।  

सुत्ने बेलामा खै कताबाट लालगेडी याद आयो। हामी केटाकेटी छँदा लालगेडी टिपेर आँखामा हाल्थ्यौं त्यो बिझाउँदैन थियो बरु उल्टै आँखा भित्रका फोहोर आफ्नो सानो खोपिल्टोमा भरेर निस्किन्थ्यो। त्यसपछि घरबेटी बालाई सम्झें।