विनिर्माणले नछोएको निर्माण - सानो कथा
एउटा कामबाट लखतरान् भएर घर फर्क्यो। जुत्तो खोलेर ढोकाको कुनो तिर घचेट्यो, मोजाले सोफाको कापामा ठाऊँ पायो। श्रीमतीले बिहानका भाँडाकुँडा त्यसै छाडेर गएको पाउँदा एउटाको थकान् अब रिस बनेर अनुहारमा देखिन थाल्यो। बल्लतल्ल समय निकालेर ईस्त्री गरेको कमीज् ढोका पछाडि भुईंमा खसेको देख्दा, त्यसपछि एउटाको रिसले पौरुषको लेप पायो, नाकका पोरा फुल्न थाले। यहि बेला एउटीपनि काम सकेर फर्कीई, काँधमा भिरेको झोला बाहेक, दाहिने हातले बच्चो डोर्याएको थियो र देब्रे हातले तरकारीको झोला अँठ्याएको थियो।
"तिमीपनि............. कति थोक मैले भ्याउनु? नानीलाई स्कूलबाट ल्याउन आजपनि बिर्स्यौ हैन?"
"भित्र पस न, म चिया बनाउँछु, पिंउछ्यौ?"
एउटी मुसुक्क हाँसी
एउटा पनि मुसुक्क हाँस्यो।
चियाको पानी मात्रै तात्दै थियो, अरु सबै सेलाइसकेको थियो।
No comments:
Post a Comment