Saturday 1 September 2012



सुन्दरताको छेऊछाऊ


काममा पुर्‍याउने गाडीमा चढ्न लाम लागेको थिएँ, मैले देखें केही अघिल्तिर एउटी युवती छे, र मेरा पछि अरु दुई अधबैसें स्त्री। कानेखुसी गरेझैं लागेकोथियो उतिबेला र भ्रम ठानेको थिएँ। 

त्यो  NSW State Transit Authority  को साझा बस् गुडेको केही बेरमा त्यो अघिल्तिरकी युवतीले मुहारमा लाली, आदि लगाउन थाली। 
अरु दुई अधबैसें स्त्रीहरु, जो छेवैमा थिए, मध्ये एउटीले वरपर सुनिनेगरि नै बोली, "She trying to hide her ugliness " 
तर ऊ सुनेरपनि नसुनेझैं मज्जाले झन् सुन्दर बनिंदै थिइ। मलाई भने औडाहा भयो, मन भकान्निएर आयो। 

जुन अनुहार सामान्यजनलाई रुच्दैन त्यसलाई मान्छेहरुले कुरुप भनिदिन्छन्, "Ugly " भनिदिन्छन्। तर त्यसो भन्ने मान्छेको मनलाई के भन्ने? मलाई मेरो ईश्वरले अझै सिकाएको छैन। 
त्यो अघिल्तिर कि एउटीको केशबिन्यास् अद्भुत थियो, अफ्रिकीहरु यो कलामा निपुण देखेकोछु। 
ऊ अझै सुन्दर र सौम्य हुँदै थिइ, मेरो कलम झुत्रो कागजमा त्यही सुन्दरताको छेऊछाऊ खोज्दै थियो। 


सुन्दरताको छेऊछाऊ

जतिबेला म तिमीलाई श्रिंगारिंदैं देख्दछु 
मलाई चरी याद आउँछे 
जो सानो खोपिल्टोमा जमेको 
पानीमा सौन्दर्यको सामुद्रिक  चेत् पाएर 
आफुलाई चुच्चादेखी पुछारसम्म
पुछेर, चिल्लो भएर 
सुकिलो हाँगामा गएर बस्छे। 
त्यो चरोपनि याद आउँछ 
जसलाई संसारको एकमात्रै 
सुन्दर बस्तु त्यै हांगोको सेरोफेरो लाग्छ। 
हो, मलाई तिमी सुन्दर हुन पाउनुपर्छ 
भन्नेकुरामा शङ्का छैन। 

Saturday 28 July 2012


बेग्लै बयान देख्ने आँखाहरु। 

कुकुरलाई छेऊ, टुप्पो र उँधो बाहेक जम्मै ढाकिने गरि लुगा लगाइदिएको देख्ने बित्तिकै उसले भनिहाल्यो, 
उफ्फ! चिथडे भि मयस्सर् नहीं ईन्सान को कहीं 
बुर्कापोश है कुत्ते मौला तेरी ही वागीचे में कहीं 
(मान्छेलाई झुत्रो छैन कतै, प्रभु! तेरै फुलबारीमा डुल्छ लबेदा बेरेर कुक्कुर) 
त्यसपछि फ्वाँक्क पान पराग मुखमा हाल्यो र मतिर हेरेर, उ ऊता काम थुप्रिइसक्यो जाऊँ भनेर तान्यो। 

जाफर रजा सहरियार र म संगै काम गर्छौं। काममा जाफर पक्का छ। काम सक्छ अनि आराम गर्छ। ऊ आफु ख्यालठट्टा कम गर्छ तर छँदाखाँदाको गीतमा अर्कै शब्दहरु भरेर हाँसउठ्दो र कहिलेकाहीं अश्लील बनाउँछ। लय चैं बिगार्दैन। मैले एकपल्ट नुसरत फतेह अलिको  गाना सुनाएर सोधें "यो कसको हो?" 
उसले ठम्याउन सकेन, मैले बजाएरै सुनाइदिनु पर्‍यो उसका पत्यारका  लागि। मैले नुसरतको सबै जसो गीत सुनेको छु भनेर हिजोसम्म धक्कु लाउँदै आएको जाफरलाई मैले नै खुलस्त पारिदिनुपर्‍यो त्यो गाना र गीतको श्रोतको बारेमा। त्यो Bandit Queen  भन्ने हिंदी चलचित्रको थियो, जसमा संगीत नुसरतको नै छ। 

ऊ आफु गीतार बजाउँछ तर गीत भने गाउँदैन, गुनगुनाउँछ। अचम्मको छ, गाएको बेला बजाउँदैन। बजाएको बेला गाउदैंन। 
कराँची, पाकिस्तानमा उसको परिवार छ। बुवा र भाई प्रहरीमा छन्। एकदिन एक्कासी झोंक्किएर भन्यो, "साले मेरो भाई घुस्याहा  छ, माया लाग्छ तर मनपर्दैन। जब ईमरान खानको पार्टी तहरीक-ए-ईन्साफ सत्तामा आउँछ यिनिहरुलाई पाता फर्काएर कुट्नु पर्छ।" 
यति भनि सकेर चुरोटको लामो सर्को तान्यो र ठुटो मिल्काइदियो। लगत्तै मुखमा पान परागको फाँको हाल्यो। 
मैले सोधें, "जाफरभाई एकथोक, दुईथोक खाऊ न के यो सुर्तिपनि?"
"पाकिस्तानमा म अफिमपनि खान्थें कहिलेकाहीं, तर जब मेरी हजुरआमाको ईंतकाल भयो म मस्त रहेछु नशामा, केहि थाहपत्तो भएन मलाई। काँधमा बोकी गाडेर आएको बेलादेखि मैले त्यो चिज छोएको छैन।"

ऊ आफु पनि तहरीक-ए-ईन्साफको सदस्य हो। 
"ईमरान खान र तहरीक-ए-ईन्साफ बाट पाकिस्तानिहरुले धेरै आश राखेका छन्, बुझ्यौ राजन। जतिबेला राम्रा राष्ट्रिय निति भएका पार्टीहरु र स्वच्छ आचरण भएका नेताहरु हामी कहाँ थिएनन् हामीले सेनाकै सत्ता रुचायौं। बिकास कार्यमा सेनाले भ्रष्टाचार नगर्ने हुनाले नै गर्दा हामी निकै हदसम्म संतुष्ट भएका थियौं। नत्र केवल नराम्राहरु मध्ये चुन्ने अवसर पाउनु कुनै पनि राष्ट्र र जनाताका निम्ति दुर्भाग्य हो।"
उसले यति भनि नटुंग्याउँदै मैले आफ्नो देश सम्झें। दुर्भाग्यहरुको कस्तो अनुपम् मेल!  
उसका आँखा सधैं उत्सुक हुन्छन्। मलाई लाग्दछ अरुले देख्ननसकेका, देखिहाले भनेपनि ठम्याउन नसकेका कुरा जाफरले देख्न, ठम्याउन सक्छ। 
अस्ती भर्खर हामीले काम गर्ने ठाऊँकी केटी देखाउँदै भन्यो, "यो मैयाँ मलाई च्वाँक लाग्छे। दिनहुँ फरक कपडा लागएर आउँछे तर लाली र गाजल कहिले फरक पार्दिन। यसका boyfriend गोडा दुई चार छन् र यो सधैं काम सकेर त्यो कम् उज्यालो भएको छिडिंको मुन्तिर अनेकथोक खान्छे।" 
"तैपनि तिमीलाई मनपर्छ?" मैले जान्न खोजें 
"त्यो राम्री देखुन्जेल मलाई मनपर्नेछे। त्यसलाई राम्रा देखिने केटा चहिएको छ, नभए दुर्व्यसनी; मलाई राम्री केटी मनपर्छ। बाँकी दोश्रो कुराको के मतलब।" 
मैले पहिलो कुरोको मतलब सोधिन।  

ऊ काममा आक्कलझुक्कल मात्र ढिला आउँछ। ढिलो भएको बेला उसको र मेरो भेंट बसमा हुनेगर्छ। 
एकदिन यस्तै भयो। ऊ अगाडिको सिटमा फैलिएर बसेको थियो म पछिल्तिरकोमा। केहिबेरपछि एउटा कुनै बिसौनिबाट एउटी  केटी चढि। ब्यस्त समय भएकाले भिंडमा अनुहार देखिएको थिएन तर सुन्दर र आधा भन्दा बढि खुलेको ढाड हामीतिर फर्केको थियो। 
उसका आँखापनि त्यतैतिर घोरिएको देखेर मैले सोधें, "जाफरभाई गोरो छालामा कालो पहिरन कस्तो खुलेको छ हगी? कस्तो चिल्लो ढाड हैन र? कस्तो लाग्यो?" 
ऊ जवाफ फर्काउन सदा झैं स्फुर्त रह्यो, "रन्धा* लगाएको काठ जस्तै चिल्लो छ" 
मैले मनमनै सोचें कस्तो उल्लु रहेछ जिवित सौन्दर्यसंग निर्जिव काठको  तुलना गर्छ, र भनें "मान्छे पो हो त, ढुङ्गामुढा हो र? के रसै नभएको कुरा गरेको जाफर?।" 

उसले अगाडिको सीटबाट पछाडि म भएतिर मुख फर्कायो र मेरो आँखामा सोझै आँखा गाडेर भन्न थाल्यो,  "मेरी हजुरआमालाई मेरा हजुरबाले गोडा दुई एक सौता हालेपछि झनै धर्मपरायण भइन्। म सानो छँदा मलाई कुरान् पढ्न सिकाउने उनै हुन्। कुरानका कतिपय आयत्** मलाई अझै कण्ठाग्र नभएपनि त्यो कुरान राख्ने रेहाल***  यति चिल्लो, चम्किलो र ओज्श्वी थियो, मलाई अहिले त्यो कुरानको भार थाम्ने त्यै रेहालको संस्मरण भैरहेको छ।" 
मैले भनें नि, 
उसका आँखा सधैं उत्सुक हुन्छन्। मलाई लाग्दछ अरुले देख्ननसकेका, देखिहाले भनेपनि ठम्याउन नसकेका कुरा जाफरले देख्न, ठम्याउन सक्छ। 
सहि हो। 



रन्धा*= काठलाई चिल्लो पर्ने फलामको पत्ती भएको औजार
आयत् **= कुरानका श्लोक 
रेहाल***= कुरान राख्ने काठ वा हस्तिहाड वा संगमरमरले बनेको तपको। 

Saturday 7 July 2012


विनिर्माणले नछोएको निर्माण  - सानो कथा 


एउटा कामबाट लखतरान् भएर घर फर्क्यो। जुत्तो खोलेर ढोकाको कुनो तिर घचेट्यो, मोजाले सोफाको कापामा ठाऊँ पायो। श्रीमतीले बिहानका भाँडाकुँडा त्यसै छाडेर गएको पाउँदा  एउटाको थकान् अब रिस बनेर अनुहारमा देखिन थाल्यो। बल्लतल्ल समय निकालेर ईस्त्री गरेको कमीज् ढोका पछाडि भुईंमा खसेको देख्दा, त्यसपछि एउटाको रिसले पौरुषको लेप पायो, नाकका पोरा फुल्न थाले। यहि बेला एउटीपनि काम सकेर फर्कीई, काँधमा भिरेको झोला बाहेक, दाहिने हातले बच्चो डोर्‍याएको थियो र देब्रे हातले तरकारीको झोला अँठ्याएको थियो। 
"तिमीपनि............. कति थोक मैले भ्याउनु? नानीलाई स्कूलबाट ल्याउन आजपनि बिर्स्यौ हैन?" 
"भित्र पस न, म चिया बनाउँछु, पिंउछ्यौ?"
एउटी मुसुक्क हाँसी 
एउटा पनि मुसुक्क हाँस्यो। 
चियाको पानी मात्रै तात्दै थियो, अरु सबै सेलाइसकेको थियो। 

Thursday 10 May 2012





जे देख्यो त्यही बोल्ने आँखा

"what the hell? अब community को नाममा state बनाउने? कस्तो communal कुरा हो यो? यो त racist हरुको common house पो रहेछ।"स्याम् सुनुवार मेरो किसोरावस्था देखिको साथी हो। उसको बुवा लाहुरे छँदै स्याम् हङ्कङमा जन्म्यो। लगभग तेर्‍ह बर्षको थियो होला स्याम् जब ऊ हाम्रो मासु पसलमा पहिलो पटक आएको थियो। बोलेको आधा मात्रै बुझिने गरि उसले भनेको/नभनेको र मेरा बाले बुझे जति जम्मै बेची पठाएका थिए। हो त्यतिखेरै हो स्याम् ले फनक्क फर्किएर मलाई सोधेको थियो, I have a new kite, would  you like to Join me mate? उसको अङ्रेजी लवज त मैले बुझिन तर ति निष्छल आँखा र भाखाको आग्रहले मलाई आजसम्म स्याम् को साथी बनाइ राखेकै छ। UK को स्थाई भईसकेपनि ऊ बर्षको आधा भन्दा बढि समय नेपालमै बिताउँछ। शायद उसको गर्ल्फ्रेण्ड यहिं भएर पनि होला। तर हाम्रो जमातलाई यो मात्र कारण हो भन्ने उसले भान हुन दिएको छैन। स्याम् चार पाँच महिना UK बसेर जति कमाउँछ त्यो नेपालमा आएर सक्छ। एकपटक सुदुरपश्चिम घुमेर फर्कंदा दुईवटा केटाकेटी साथै लिएर आयो।  ति बादी नानीहरुको अभिभावक मात्र बनिदिन उसले गुहारेको केटी साथीको ति नानीहरु प्रतिको स्नेह र लगावले, स्याम् लाई उसको प्रशंसक र भावी जीवनसाथी बनाएको छ। उसको कमाइको पैसा यिनै नानीहरुको पालन र पढाईमा निख्रिन्छ। यसलाई संयोग भनौं वा अरु केहि, स्याम् ले नेपालको दुई प्रमुख राजनीतिक उथुलपुथुल् देख्न पायो। ज्ञानेन्द्र शाहको कु र अप्रिल क्रान्तिमा ऊ नेपालमै अड्किएर बस्यो। बिदेशमा हुर्किएको केटोले खै के देखेर के बुझ्यो, हिजोआज "खैरे" जस्तो गरि बोल्दैन। हामी माझकै कोहि बोले जस्तो गरि उसका भाव निस्किन्छन्। "Reservation is nation's official declaration of denial of equality "। यसो भनेर हिजो उसले आरक्षणका पक्षपाती मित्रका मुखमा बुजो लाइदिएको थियो। नलागोस् पनि कसरी? ति तिनै थिए जो पढाई छाडेर जनयुद्धमा लागे, पछि YCL भनिए, त्यस् उपरान्त 'क्याम्पका लडाकु' र अहिले अवकाश प्राप्त। उसको एकै प्रश्न थ्यो तिनिहरुलाई, "तिमीहरुले खुरुखुरु पढि मात्रै दिएको भए, आरक्षणलाई तिमीहरुले चिनिरहनु पर्थ्यो?" 



Wednesday 11 April 2012

लालगेडी बा


किन  लेख्तछन्   खै? यत्रो   बर्षको  साधानाले यस्तै अशुद्ध भाषा र शैली जन्माउँछ? उनको तिक्तता त्यति पोखिंदैमा रित्तिएन। भन्नुस् त 
जुन्  कुरा   प्रकाश छेकेर जन्मन्छ त्यो कहिं झुल्किन्छ?   टल्किन्छ? उनको ईशारा केही बर्ष अघि गाइएको गीत तिर थियो। मैले यो तर्कको प्रतिवाद नगर्ने सोचें र भनें, " फेरी प्रकाशको श्रोत, स्थान बदलिंइदै जाँदा छाँयाको क्षेत्र पनि बदलिन्छ, त्यसैले पनि ठिक भएन।" 
"हैन भाई, यति सार्‍हो गहिरो जानै पर्दैन, मैले सरासर गल्ती मात्रै औंल्याउन खोजेको  होइन, एउटा गल्तीले अरु पनि निम्त्याउने र त्यसको अनुसरणले भाषा बिटुलिने यथार्थ बताउन खोजेको हुँ।" 
हामीले एकअर्कालाई देख्तै आएको निकैपछि आपसमा बोल्न सुरु गरेका हौं। उनि माझमा बस्न रुचाऊँछन्, म चैं कुनोमा। उनि गफ् गर्न मनपराऊँछन् तर कुरो चैं आफु सुरु गर्दैनन्। हाम्रो भेट हुने प्राय भट्टी मै हो।  आक्कल्-झुक्कल तरकारीको झोला बोकेर फर्कँदा बाटो या भर्‍याङमा भेट हुन्छ, नत्र भट्टीमा पक्का। भाषा प्रति यिनको प्रेम असाध्य छ। एक साँझ पिउन सुरु नगर्दै भने, " सुन्नुहोस् त! प्रकृतिका कोटीकोटी सम्पदाको आँचल, वीरहरुका रगतले स्वतन्त्र र अटल। आहा! सरल शब्दमा पनि कस्तो अद्बुत चमत्कार। यी शब्द सुनेर फेरी फेरी पनि नेपाल मै जन्मिन मन लाग्छ।" मैले सोचें आज घर बाटै पिएर आएछन्। भट्टीवाललाई सोधें पनि। 
"घरमा पिउन त पानी मात्रै हो।" 
यिनको बारेमा जति जानिएको छ मोटामोटी यहिं भट्टीमा हो। बाहिर यिनी त्यति खुल्दैनन्  जति यहाँ खुल्दछन्। आफन्त भेट्न आएको या यिनी गएको पनि उति थाहा छैन। म घर भाडापनि यिनकै श्रीमतीको हातमा दिन्छु, यिनलाई मनाही छ। पेन्सन बुझेर चालिस आफु राखी साठी घरमा बुझाऊँछन्। 
मलाई पत्यार लागेन यिनी तराईका कुनै जमिनदारका छोरा हुन् भनेर। त्यो पनि एक्लो संतान। आमालाई यिनी सानै छँदा सर्पले डसेछ। त्यस पश्चात यिनलाई मुजफ्फरपुर लगेर पढ्न राखिएछ र बाउले अर्को बिहे गरेछन्। प्रवेशीका सकेर घर आएका बखत एक साँझ यिनले बाउलाई कम्तियाकी श्रीमतीसंग ओछ्यानमा भेटेछन्। त्यसपछी घर छाडेका यिनी, सौतिनी आमा बित्दा मात्रै तराई फर्के, त्यो पनि सोझै घाटै पुगेछन्। यिनी आँफैं भन्छन्, "जे गरें आँफैं, आफ्नै लागि गरें। मेरा बाउले पनि आफ्नै लागि गरे तर मैले चैं अरुको फिट्टो बिगारिन"। गीत कविता यिनी पाँच सात कक्षादेखि नै लेख्थे अरे, तर हार्मोनियम नौ कक्षामा छँदा साथ लागेछ र गाउन सुरु गरेछन्।  भगवान त मान्दैनन् क्यार तर  हार्मोनियम सिकाउने गुरु प्रति निक्कै श्रद्धा रख्छन्। अलि चर्को बोलिरहको बेलामा पनि ति गुरुको नाम ल्याउनपरे स्वर नरम भै हाल्छ। ससुरालाई यिनले जति आदर शायद नै अरु कुनै ज्वाँईंले दिएका हुँदा हुन्। घर छाडेर हिंडेका यिनी भारतको बाटो भएर राजाधानी छिरे, उच्च अध्य्यन गर्न। बि ए सकेपछि सरकारी अड्डाका सुरुका एकदिन एउटा अपरिचित् आएर एउटा पत्र थमाएर हिंडेछ। त्यो एक पत्र र एक डाकको मुर्च्छनाले भक्कान्निएर हिंडेका यिनी दुई हप्तापछि तिनै गुरुकी बहिनी र एउटा थोत्रो हार्मोनियम लिएर फर्के। आफ्ना  दिवंगत गुरुका ति दुई चिनोलाई जति  माया अरु केहीलाई गर्दैनन्। यिनी भट्टीबाट फिरेपछि घरमा सधैं कचिङगलो हुन्छ, तर यिनी आफ्नो बचाऊ गर्दैनन्। बरु पिएर आफ्नो मात्रै त हो नि बिगारेको भन्ने जस्तो तर्क गर्छन्। यहि एउटा पिउने बानी संग श्रीमतीको गुनासो छ नत्र यो जोडी एक अर्कालाई  प्रेम र ख्याल  जति राख्तछन् त्यो भन्दा निकै धेरै सम्मान गर्छन्। आखिर संतान भएनन् यिनको। 
हुन त हामी दुबै पिऊँछौं, म बढि पिऊँछु यिनी अलि बढि नै पिऊँछन्।  
यसरी नै एकदिन अलि बढि नै भएको बेला आफु निसंतान भएको गुनासो पोखे, "मेरा बाउले मेरी कान्छी आमालाई दिएको दु:खको पाप मलाई लाग्यो।" 
प्राय दिउँसो यिनी हार्मोनियम लिएर गाउन बस्छन्, ढोका ढप्काएर। श्रीमती बिस्तारै आएर चुपचाप सुनिरहन्छ्न्। कहलिएका गायक र उस्तादहरुले उहिल्यै भनेका रहेछन्, "समर बाबु रेडियोमा आएर गाउनुहोस्"।  
मुसुक्क हाँसेर भनेछन्, " म तपाईंहरु जत्तिको महान छुईन। म आफु रमाउन आँफैं लेखी गाएर आँफैंलाई सुनाउँछु। मेरो स्वरलाई राम्रो ठानिदिनुभयो, मलाई पुग्यो"। 
सुब्बासम्म पुगेर सेवानिर्वृत भएका यिनी कहिल्यै घुस नलिएकोमा गर्व गर्छन्। 
"आफ्नो लागि भनेर नगरेको यत्ति एउटा हो। नत्र गुरुजी बित्दा त्यो जागिर छाडेर उतै घरजम गर्थें। गुरुजीको  त्यति बिघ्न सम्पत्ति छाडेर श्रीमतीको हात मात्र समाउन मलाई उतिखेर के कर थियो थाहा छैन।  तर भाई त्यसो नगरेको भए मेरी श्रीमती मैले गाएको आजसम्म सुनिरहन्न थिई होला। अरुका कुरा छाडौं ति आँखामा मेरालागि त्यो एकदिन पलाएको आस्थाको मुनो आज सम्म बरु झाङिएकै छ।"

हो यस्तै कुरा गर्छन् यिनी। समयले कोल्टे फेर्दै धेरै मापक र मानक फेरिदिएपनि यिनी आफ्ना पुराना दिनहरुले दिएका सन्तुष्टि र आग्रह प्रति बफादार छन्। एउटै कुरो खोट लाउन हुने लायकको छ। आँफैं भन्छन्," हो भाई अलि बढि नै पिइन्छ"। 
त्यो त म पनि पिऊँछु।  

सुत्ने बेलामा खै कताबाट लालगेडी याद आयो। हामी केटाकेटी छँदा लालगेडी टिपेर आँखामा हाल्थ्यौं त्यो बिझाउँदैन थियो बरु उल्टै आँखा भित्रका फोहोर आफ्नो सानो खोपिल्टोमा भरेर निस्किन्थ्यो। त्यसपछि घरबेटी बालाई सम्झें। 

Saturday 24 March 2012


फेरि उहि कुरा
'भगवान त एउटै हो नि यार?'
उसको पारा चढ्यो। 
अर्कोको कुरा नसुने झैं उसले खल्तीबाट खैनीको पोको झिक्यो, चुना मिसायो र माड्न थाल्यो। 
अर्को शायद उसको प्रतिकृयाको पर्खाइमा थियो। 'हँ? होइन र यार?'
उसले खैनी टक्टक्यायो र ओंठमा चेप्यो। उसले अर्कोलाई चुपै लगाइदिने बिचारले  भन्यो,'तैंले म कहिल्यै चर्च गएको देखेको छस्?'
अर्कोले मुन्टो हल्लायो। 
'तँ कहिल्यै मस्जिद गएको छस्?'
अर्कोले फेरि मुन्टो हल्लायो। 
'अनि? कसरी भो भगवान एकै?'
अर्कोले आफ्नो अड्डी अलि छाड्दै गएको पारामा भन्यो,' खै मलाई त एउटै हो जस्तो लाग्छ।" 
उसले कुरा टुंग्याउँदै भन्यो,' तँलाई त्यस्तो लागेर, मलाई त्यस्तो नलागेर केही हुँदैन। उ! त्यसले श्राद्ध सके जस्तो छ, खल्ती रित्याएर भेटी देला । जा बोलाएर ल्या, भट्टीमा उधारो पनि बन्द छ। गेटपास् त चाहिन्छ।'